विश्व नम्बर एक यानिक सिन्नरले पहिलो पटक विम्बल्डन उपाधि जितेका छन् ।
पुरुष टेनिसको प्रमुख शक्तिहरूबीच भएको अर्को उच्चस्तरीय ग्रान्ड स्ल्याम फाइनलमा कार्लोस आल्काराजलाई ३-१ ले हराउँदै सिन्नरले पहिलो पटक विम्बलडन उपाधि प्राप्त गरेका छन् ।
इटालीका सिन्नरले अङ्ग्रेजी टेनिसको गढ ‘अल इङ्ग्ल्यान्ड क्लब’मा स्पेनका विश्व नम्बर दुई आल्काराजविरुद्ध ४-६, ६-४, ६-४, ६-४ को जित निकाले । सिन्नरले फ्रेन्च ओपनमा ३५ दिनअघि व्यहोरेको कठोर हारको बदला लिए ।
त्यो खेलमा सिन्नरले दुई सेटको अग्रता बनाएका थिए । तीनवटा च्याम्पियनसिप पोइन्ट पनि हात पारेका थिए। तर त्यसपछि आल्काराज पाँच घन्टाभन्दा बढी समयसम्म चलेको पाँच सेटको ऐतिहासिक खेलमा फर्किएका थिए ।

तर अहिले, २३ वर्षीय सिन्नरले सेन्टर कोर्टमा दुई पटकको डिफेन्डिङ च्याम्पियन आल्काराजलाई हराउँदै उपाधि आफ्नो नाममा गराए । यो खेलले फेरि एकपटक दुबैले देखाएको कौशल, शारीरिक क्षमता र स्टार शक्ति प्रस्तुत गर्यो। ‘यो साँच्चिकै विशेष छ,’ सिन्नरले भने, ‘म आफ्नो सपना बाँचिरहेको छु ।’
यस वर्षको सुरुवातमा तीन महिना डोपिङ प्रतिबन्ध भोगेका सिन्नरले आफ्नो करियरको चौथो ग्रान्ड स्ल्याम उपाधि जितेका छन् । उनले पहिलोपटक हार्ड कोर्टबाहेकको मैदानमा ठूलो उपाधि जितेका हुन् । शीर्ष वरियताका खेलाडी सिन्नरको संयमित र सटीक प्रदर्शनले आल्काराजको २४ खेलको जितको लयलाई अन्त्य गरेको छ ।
सिन्नरको जितले २२ वर्षीय आल्काराजलाई ओपन युगमा तीन पटक लगातार विम्बलडन जित्ने पाँचौँ पुरुष खेलाडी बन्नबाट रोकेको छ ।
‘हार सधैं गाह्रो हुन्छ,’ आल्काराजले भने, ‘तर सुरुमा म सिन्नरलाई फेरि बधाई दिन चाहन्छु । यो उपाधि उबले पूर्ण रूपमा योग्य भएर जितेका हुन् । उनले राम्रो टेनिस खेल्दै आएका छन् र उनी आगामी दिनमा पनि ठूलो प्रतिस्पर्धी बन्नेछन् ।’
