एसइई कपमा सोमबार चार स्कुल विजयी

२०८२, १० असार मंगलवार ०६:४०

विराटनगरमा जारी चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा सोमबार मोरङका चार स्कुल विजयी भएका छन् ।

विराटनगर–१ स्थित परोपकार खेल मैदानमा भएको दोस्रो दिनको खेलमा जनपथ स्कुल, डनबस्को, आदर्श र केएमसी स्कुल विजयी भएर दोस्रो चरणमा पुगेका हुन् ।

पहिलो खेलमा जनपथ माविले देवकोटा माविलाई ५–० गोलले पराजित गर्यो । जनपथलाई जित दिलाउन विशाल मलिकले दुई गोल गर्दा प्रशान्त ऋषिदेव, अरुण मलिक र करण राईले समान १ गोल गरे । खेलको म्यान अफ द म्याच विशाल मलिक चुनिए ।

दोस्रो खेलमा डनबस्को स्कुलले गोदावरी स्कुललाई ३–० गोलले हरायो । डनबस्कोको जितमा प्रकाश कामत, नितेश राजवंशी र विधान भण्डारीले समान १ गोल गरे। निकुश खतिवडा खेलको म्यान अफ द म्याच घोषित भए ।

तेस्रो खेलमा आदर्श माविले शारदा स्कुललाई ३–१ गोलले पराजित गर्यो । आदर्शलाई जित दिलाउन युसन लिम्बु, सलोक बस्नेत र करण यादवले समान १ गोल गर्दा शारदाका सुवास ऋषिदेवले सान्त्वना गोल फर्काए । खेलको म्यान अफ द म्याच आदर्शका युसन लिम्बु चुनिए ।

चौथो खेलमा केएमसी स्कुल बोर्डिङ स्कुलले गोग्रा माविलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । खेलको प्लेयर अफ द म्याच केएमसीका गोलकिपर साजिद अख्तर घोषित भए ।

प्रतियोगिता अन्तर्गत तेस्रो दिन आज तीन खेल हुनेछन् । पहिलो खेलमा एजेलिया स्कुल र सनसाईन स्कुल, दोस्रो खेलमा नरग्राम मावि र श्री किसन मावि तथा तेस्रो खेलमा बाल आदर्श स्कुल र खनार सनसाईन स्कुल भिड्नेछन् ।

वडा नम्बर १ कार्यालय विराटनगर महानगरपालिकाको सह आयोजनामा तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्रायोजनमा चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड कप फुटबल प्रतियोगिता आईतबारबाट सुरु भएको हो । प्रतियोगितामा मोरङ र सुनसरी गरी कुल ३९ विद्यालयको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्पोर्टी साइकल प्रदान गरिने प्रतियोगिताको संयोजक बिक्की कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *