राष्ट्रिय खेलकुद परिषद्ले प्रकाशन गरेको ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन भएको छ ।
बुधबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पियनहरु बैकुण्ठ मानन्धर, जितबहादुर केसी, दिपक विष्ट, विष्णु बहादुर सिंह लगायत १५ जना ओलम्पियनहरुले संयुक्त रुपमा पुस्तकको विमोचन गरे ।
परिषद्ले ओलम्पिकमा नेपाल सहभागी भएको सन् १९६४ देखिदेखि २०२४ सम्मको इतिहास समेटेर पुस्तक प्रकाशन गरेको हो ।
पारालिम्पिक, समर तथा ग्रीष्मकालिन ओलम्पिक र युथ ओलम्पिकमा नेपालबाट सहभागी भएका खेलाडीहरुको संक्षिप्त जानकारी तथा उपलब्धि समेटेर पुस्तक प्रकाशन गरिएको राखेप प्रचार शाखा प्रमुख खुशराज दाहालले जानकारी दिएका छन्।
पेरिस ओलम्पिकलाई केन्द्र बनाएर प्रकाशित भएको पुस्तकमा हाल सम्म सहभागी भएका सबै खेलाडीहरुको विवरण समेटिएको छ । जसले नेपाली खेलकुदको इतिहासलाई जिवन्त राख्न सहयोग पुग्ने परिषद्का सदस्य सचिव घिसिङले बताए ।
चार पटक सम्म भाग लिएका ओलम्पियन बैकुण्ठ मानन्धरले पुस्तकले खेलाडीहरुलाई सबै नागरिक सम्म पुर्याउने बताए । कार्यक्रममा ओलम्पियन संघका अध्यक्ष दीपक बिष्टले पुस्तक परिषद्को महत्वपूर्ण सम्पती भएको उल्लेख गरे । पुस्तक लेखनमा खेलकुद पत्रकारहरु धुरब तुलाधर तथा रोशन राउतले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषदले ओलम्पिकमा नेपाल, एशियाडमा नेपाल र राष्ट्रिय खेलकुदको इतिहास तथा वार्षिक दर्पणसहित पछिल्लो तीन वर्षमा पाँच वटा पुस्तक प्रकाशन गरिसकेको प्रचार शाखा प्रमुख दाहलले जानकारी दिए ।
सोही कार्यक्रममा मिशन २०२६ अन्तर्गत बिशेष प्रशिक्षणमा रहेका खेलाडीहरुलाई उत्प्रेरणा कार्यक्रम गर्नुका साथै खेल समाग्री समेत वितरण गरिएको राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठले बताए ।
