साफ यु-१९ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली भारतसँग पराजित हुँदै समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ ।

मंगलबार गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा नेपाल भारसँग ४-० गोलअन्तरले पराजित भएको हो । भारत समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो । 

प्रतियोगितामा भारतको यो नेपालविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो जित हो । यसअघिका दुई भेटमा दुवै टोलीले पेनाल्टी सुटआउटमार्फत खेल जितेका थिए ।

सन् २०१५ मा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै उपाधि जितेको थियो ।

त्यसको आठ वर्षपछि अर्थात २०२३ मा त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको दोस्रो भेटमा भारतले नेपालसँगको बदला लिँदै पेनाल्टी सुटआउटमा ३–२ को जित हात पार्दै उपाधि कब्जा गरेको थियो । ती दुवै खेल १–१ को बराबरीमा टुंगिएका थिए ।

आजको खेलमा भारतलाई जित दिलाउन रोहिन सिंहले दुई तथा ओमङ डोडुम र डानी मिथेईले समान एक गोल गरे । खेलको २८औं मिनेटमा रोहिनको गोलमार्फत भारतले अग्रता लिएको थियो ।

त्यसको दुई मिनेट पछि नै ओमङले भारतको अग्रता दोब्बर बनाए । ७६औं मिनेटमा रोहिनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ८४औं मिनेटमा डानीले गोल गर्दा भारत ४-० ले विजयी भयो ।

नेपालले सेमिफाइनलमा समूह ‘ए’ को विजेता बंगलादेशसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । भारतले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता माल्दिभ्ससँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *