धनकुटाको राजारानीमा जारी १२औं रारा गोल्डकप फुटबल प्रतियोगितामा बिर्तामोड युनाइटेड झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।
राजारानी खेल मैदानमा बुधबार भएको तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेडले डिफेन्डिङ च्याम्पियन सहलेस युथ क्लबलाई टाइब्रेकरमा २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा विर्तामोडका आशिष चापागाईं र विक्रम तामाङले गोल गरे भने सलहेसका आदित्य शाक्यले गोल गरे ।
खेलको म्यान अफ दि म्याच बिर्तामोडका गोलरक्षक अभिषेक बराल घोषित भए । उनले नगद ७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा भोली बिहिवार चर्च ब्वाइज युनाइटेड काठमाडौं र बागमती युथ क्लब सर्लाहीबीच चौथो तथा अन्तिम क्वाटरफाइनल खेल हुनेछ । प्रतियोगिताको बिजेताले ७ लाख तथा उपबिजेताले ३ लाख प्राप्त गर्नेछन् ।
