जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिख आरबी लाइपजिगसँग ३-३ गोलको बराबरीमा रोकिएको छ ।
लाइपजिगको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली बायर्नका लागि एरिक डियर, माइकल ओलिसे, लिरोय सानेले गोल गरे । लाइपजिगका लागि बेन्जामिन सेस्को, लुकास क्लोस्टरम्यान, युसुफ पोल्सेनले गोल गरे ।
खेलको ११औं मिनेटमा सेस्कोकोले गोल गर्दै लाइपजिगलाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा क्लोस्टरम्यानले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा एक मिनेटभित्र दुई गोल गर्दै बार्यन खेलमा फर्किएको थियो । डियरले ६२औं र ओलिसेले ६३औं मिनेटमा गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए ।
सानेले ८३औं मिनेटमा बायर्नका लागि तेस्रो गोल गर्दा बायर्न ३-२ ले अघि बढ्यो । इन्जरी समयमा लाइपजिगका पोल्सेनले गोल गर्दै बायर्नलाई ३-३ गोलको बराबरीमा रोक्न सफल भए ।
यो नतिजासँगै ३२ खेलमा ७६ अंक जोडेको बायर्न शीर्ष स्थानमा कायम छ । लाइपजिग समान खेलबाट ५० अंकका साथ पाँचौं स्थानमा छ ।
