बोर्नमाउथद्वारा आर्सनल पराजित

२०८२, २१ बैशाख आईतवार ११:५०

एएफसी बोर्नमाउथले शनिवार आर्सनललाई २-१ को पराजित गर्दै युरोपियन प्रतियोगिताको आशालाई जीवित राखेको छ ।एमिरेट्स स्टेडियममा बोर्नमाउथले पहिलो पटक अंक बटुलेको हो ।

बुधवार पेरिस सेन्ट-जर्मेनविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेगको तयारी आर्सनलका लागि योजना अनुसार अघि बढेन । किनभने उनीहरूले घरेलु मैदानमा फेरि निराशाजनक नतिजा भोग्नुपर्‍यो ।

३४औं मिनेटमा मार्टिन ओडेगार्डको उत्कृष्ट पासपछि डेक्लान राइसले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । तर प्रिमियर लिगमा पछिल्लो खेलमा क्रिस्टल प्यालेससँगको २-२ बराबरी जस्तै यो खेलमा पनि दोस्रो हाफमा अग्रता गुमाए ।

६७औं मिनेटमा बोर्नमाउथका लागि डिन हुस्जेनले एन्तोनी सेमेन्योको लामो थ्रोबाट हेड गर्दै बराबरी गोल गरे । त्यसको ८ मिनेटपछि मार्कस टाभर्नियरको हेड पासमा इभानिल्सनले गोल गर्दै जित दिलाए ।

यो नतिजापछि दोस्रो स्थानको आर्सनल म्यानचेस्टर सिटीभन्दा मात्र ३ अंकले अगाडि छ । बोर्नमाउथ आठौं स्थानमा उक्लिएको छ । फुलह्यामभन्दा २ अंकले अगाडि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *