विभागीय टोली एपीएफ फुटबल क्लबले नुवाकोटमा सम्पन्न प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० ले हराउँदै एपिएफले लगातार दोस्रो साता उपाधि जितेको हो । गत साता नेपालगन्जमा भएको लुम्बिनी कपको फाइनलमा पनि एपिएफले पुलिसलाई हराएको थियो ।
बट्टार स्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको फुटबल मैदानमा भएको खेलमा एपिएफलाई च्याम्पियन बनाउन अनिता केसीले निर्णायक गोल गरिन् ।
दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा अनिता बस्नेतको कर्नरमा अनिता केसीले हेडर गोल गर्दै एपिएफलाई उपाधि दिलाएकी हुन् ।
पछिल्लो पछिल्लो ४ महिनामा एपिएफले एन्फा लिगसहित ५ वटा उपाधि जितेको छ । लिग पछि इलाम र चितवनमा पनि एपिएफ च्याम्पियन बनेको थियो ।
उपाधिसँगै एपिएफले ५ लाख रुपैयाँ नगद र ट्रफी पाएको छ । उपविजेता पुलिसले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी पायो ।
फाइनल खेलमा म्यान अफ दि म्याच बनेकी अनिता केसीले व्यक्तिगत अवार्डतर्फ सर्वाधिक गोलकर्ताको अवार्ड हात पारिन् । यस्तै एपिएफकी रेनुका नगरकोटी सर्वोत्कृष्ट खेलाडी, एपिएफकै गोलकिपर अन्जना राना मगर उत्कृष्ट गोलकिपर र एपिएफकै प्रशिक्षक जिवेश पाण्डे उत्कृष्ट प्रशिक्षक चुनिए ।
नुवाकोट जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजना तथा नुवाकोट जिल्ला फुटबल संघ सहयोगमा बैशाख १३ गते सुरु प्रतियोगितामा ३ विभागीय टोलीसहित ८ टोली सहभागि थिए ।
