संकटा फुटबल क्लब मकवानपुरको हेटौँडामा जारी सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार हेटौँडा– ६ स्थित गौरीटार रंगशालाको फुटबल मैदानमा भएको खेलमा नवजनजागृति क्लव सिमरा बारालाई ६-१ ले हराउँदै सिमरा अन्तिम चारमा प्रवेश गरेको हो ।

संकटालाई जित दिलाउन ममता पुन मगरले उत्कृष्ट प्रदर्शन गरिन् । उनले व्यक्तिगत ५ गोल गरिन् । उनले खेलको पहिलो हाफको नवौं, २१ औं, ३५ औं मिनेटमा ह्याट्रिक पूरा गरिन् ।

ममताले दोस्रो हाफको २७ औं र ८४ औं मिनेट गोल गरिन् । योसँगै ममता प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनिन् ।

संकटाका लागि अर्को एक गोल जेनिफर राना मगरले खेलको पहिलो हाफको १३औं मिनेटमा गोल गरिन् । सिमराकी रोजिना लामाले खेलको ७९औं मिनेटमा एक गोल फर्काइन् ।

५ गोल गरेकी संकटाकी ममता प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।अब संकटाले एपिएफ र वीरगंज युथ स्पोर्ट्सबीचको विजेतासँग सेमिफाइनल खेल्नेछ ।

प्रतियोगितामा आइतवार नेपाल पुलिस क्लब र रौतहट जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टिमको सहभागिता छ ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्टलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको छ । हरेक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *