विभागीय टोली नेपाल एपीएफ क्लब प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा पदमा स्पोर्ट्स क्लबलाई ४-० गोलले हराउँदै एपिएफले अन्तिम चारमा स्थान बनाएको हो ।
एपिएफलाई जित दिलाउन अनिता केसीले दुई तथा रश्मी कुमारी घिसिङ र गीता रानाले समान एक गोल गरिन् ।
खेलको ११औं मिनेटमा अनिताको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा अनिताले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरिन् ।
५२औं मिनेटमा रश्मीले गोल गर्दै एपिएफलाई ३-० को अग्रता दिलाइन् । । ६१औं मिनेटमा गीताले पेनाल्टीमा गोल गर्दा एपिएफलाई ४-० ले अघि बढ्यो । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा एपीएफ ४-० गोलले विजयी भएको हो ।
अब एपिएफले बिहिवार दोस्रो सेमिफाइनलमा रौतहट जिल्ला फूटबल संघको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत बुधबार पहिलो सेमिफाइनलमा संकटा क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् ।
