युईएफए च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनल खेल आज हुँदैछ ।
आजको खेलमा इङ्लिस क्लब आर्सनल र फ्रेन्च क्लब पिएसजीबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीच हुने पहिलो लेगको खेल आर्सनलको घरेलु मैदानमा नेपाली समयअनुसार राति १२:४५ बजेबाट सुरु हुनेछ ।
लिग चरणका दुई प्रतिद्वन्द्वीहरू फेरि आमनेसामने हुन लागेका हुन् । समूह चरणमा आर्सनलले पीएसजीलाई २-० ले पराजित गरेको थियो । दुवै टोलीले लामो समयको युरोपेली उपाधि पर्खाइ अन्त्य गर्ने सपना देखिरहेका छन् ।
आर्सनलले क्वाटरफाइनलमा स्पेनिस क्लब रियल मड्रिडलाई समग्रमा ५-१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । आर्सनलले २००९ पछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनल खेल्न लागेको हो ।
पिएसजीले क्वाटरफाइनलमा इङ्लिस क्लब एस्टन भिल्लालाई समग्रमा ५-४ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो । पिएसजीले हाल सम्म आर्सनलविरुद्ध जित निकाल्न सकेको छैन ।
आर्सनलका लागि थोमस पार्टे निलम्बनका कारण पहिलो लेग गुमाउनेछन् भने जोर्जिन्हो, गेब्रियल, हृयाभट्र्ज, टकिहिरो टोमियासु र गेब्रियल जिसस पनि चोटका कारण टिम भन्दा बाहिर छन् । मिकेल मेरिनो र बेन हृवाइट भने फिट हुने अपेक्षा गरिएको छ । पिएसजी भने लगभग पूरै फिट टोली लिएर इंग्ल्यान्डको भ्रमण गर्दै छ ।
सेमिफाइनलका दोस्रो खेलमा भने बुधबार राति इन्टर मिलान र बार्सिलोनाबीच प्रतिस्पर्धा हुनेछ ।
