गोदावरी नगरपालिकाको आयोजनामा दोश्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिता आगामी शनिबारबाट शुरु हुने भएको छ ।

नगरपालिकाको वडा नं १० टाहाखेल-झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा हुने प्रतियोगितामा उपत्यकाभित्रका विभिन्न पालिकाका टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

नगरपालिकाले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आगामी शनिबारबाट प्रतियोगिताको दोश्रो संस्करण शुरु हुने जानकारी दिएको हो ।

काठमाडौं उपत्यकामा रहेका २१ पालिकामध्ये हालसम्म आयोजक गोदावरी सहित ११ वटा पालिकाले भाग लिने टुङ्गो लागेको गोदावरी नगरपालिकाका खेलकुद संयोजक एवं वडा नम्बर १४ का वडा अध्यक्ष निरोज बज्राचार्यले जानकारी दिए ।

यस प्रतियोगिताका संयोजकसमेत रहेका उनले मंगलबारसम्ममा भाग लिने टोलीको अन्तिम टुङ्गो लागिसक्ने बताए । उनका अनुसार अहिलेसम्म गोदावरी नगरपालिकाबाहेक अन्य १० वटा पालिकाको टुङ्गो लागिसकेको छ ।

प्रतियोगिता नकआउट हुने कि लिग कम नकआउट हुने त्यसको टुङ्गो सहभागी हुने टिम संख्याका आधारमा गरिने प्रतियोगिता संयोजक बज्राचार्यले बताए । अहिलेसम्म काठमाडौं जिल्लाका काठमाडौ महानगरपालिकासहित कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, दक्षिणकाली नगरपालिका र तारकेश्वर नगरपालिकाले खेल्ने निश्चित भएको छ ।

यसैगरी ललितपुर जिल्लाका आयोजक गोदावरी सहित ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, बाग्मती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकाको टुङ्गो लागेको छ । यसैगरी भक्तपुर जिल्लाबाट चाँगुनारायण नगरपालिकाले सहभागीता जनाउने निश्चित भइसकेको छ ।

अघिल्लो संस्करणमा सहभागी भएको नागार्जुन नगरपालिकासँगै शंकरापुर नगरपालिका र महांकाल गाउँपालिकाले प्रतियोगितामा सहभागी नहुने स्पष्ट पारिसकेको गोदावरीले जनाएको छ। प्रतियोगिताको विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपियाँसहित ट्रफि पुरस्कार प्रदान गरिने नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिए ।

उनका अनुसार अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपियाँ प्रदान गरिनेछ । नगरपालिकाका प्रवक्ता सिलवालले नयाँ खेलाडी उत्पादन र फुटबलको विकास गर्ने उदेश्यले उपत्यकाब्यापी अन्तर नगरपालिका फुटबलको आयोजना गरिएको बताए ।

नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले स्थानीय स्तरका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने अवसर सिर्जना गर्न र निर्माणाधिन गोदावरी बहुउदेश्यीय रंगशालालाई सबैतीर चीनाउन नगरपालिकाको आठौं स्थापना दिवसको अवसर पारी यो प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगिताको अनुमानित लागत १ करोड ९ लाख रुपियाँ लाग्ने आयोजकले जनाएको छ। प्रतियोगिताका लागि गोदावरी नगरपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको नगर प्रमुख मर्हजनले जानकारी दिए । यसबाहेकका अन्य खर्च प्रायोजकका माध्यमबाट गरिने तयारी छ । वडा नम्बर १० का वडा अध्यक्ष शेखर न्यौपानेले प्रतियोगिता संचालन हुने मैदानको तयारी अन्तिम चरणमा पुगीसकेको बताएका छन् ।

उनका अनुसार यसपटक प्याराफिट, स्टेज, चेन्जीङ कक्ष लगायत निर्माण गरिएको छ । प्रतियोगिता दौरान वर्षा भएमा खेल च्यासल मैदानमा गराइने तयारी छ। पत्रकार सम्मेलनका क्रममा मेयर मर्हजनले वन कार्यालयबाट ३ दशमलब ५ हेक्टरको बनको जग्गा रंगशालाको भोगाधिकारका लागी प्राप्त भएको बताए ।

उनका अनुसार नगरपालिकाको गौरबको योजना अन्तगत रहेको १५ हजार क्षमताको मिनी रंगशालाका लागि २ अरब खर्च लाग्ने अनुमान गरिएको छ । यसलाई प्रदेश र सघको बहुवर्षे योजनामा समावेश गरि निर्माण कार्य अघि बाड्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *