बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो ।
शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ जित र ६ बराबरी सहित ९० अंक जोड्न सफल रह्यो । यो लेभरकुसेनको क्लब इतिहासमा पहिलो लिग उपाधि समेत रहेको छ ।
लेभरकुसेन यस सिजन सबै प्रतियोगितामा अपराजित रहेको छ । लेभरकुसेन जर्मन कप डिएफबी पोकाल र युरोपा लिगको समेत फाइनलमा प्रवेश गरिसकेको छ ।
युरोपा लिगको फाइनल इटालियन कप एटालान्टा विरुद्ध मे २३ मा हुनेछ । यस्तै जर्मन कप फाइनल २५ मे मा दोस्रो डिभिजन टोली काइसरस्लाउटर्न विरुद्ध हुनेछ ।
बुन्डेसलिगामा यस सिजन ७३ अंक सहित स्टुटगार्ट दोस्रो रह्यो । बायर्न म्युनिख ७२ अंक सहित तेस्रो र आरबी लाइपजिग ६५ अंक बटुल्दै चौथो स्थानमा रह्यो । बोरूसिया डर्टमुण्ड ६३ अंक सहित पाँचौं स्थानमा रह्यो । यी पाँच टोली अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने छन् ।
