मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी तेश्रो अन्तर मिक्लाजुङ फुटबल प्रतियोगितामा हिमालयन एफसी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मिक्लाजुङ-६ स्थित कालिदह खेलमैदानमा शनिबार भएको खेलमा हिमालयन एफसीले धोबेनी एफसीलाई ट्राइबेकरमा ४–३ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइबेकरबाट भएको थियो । निर्धारित समयमा हिमालयनका लागि युकेश राईले गोल गरे भने धोबेनीका लागि महेश लिम्बुले गोल गरे ।
खेलका म्यान अफ द म्याच हिमालयन एफसीका गोलरक्षक शिशिर कार्की घोषित भए । उनले ट्रफीसहित नगद एक रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत आइतबार मिक्लाजुङ १ आरसीसी र नवदिप युवा क्लब मधुमल्लाबीच खेल हुनेछ । कालिदह फुटबल क्लबको आयोजनमा जारी प्रतियोगितामा कुल १० टोली सहभागी छन् ।
चैत्र ३० गते सम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित ३३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
