स्पेनिस ला लिगामा उपाधिको दाबेदार रियल मड्रिड पराजित हुँदा बार्सिलोना बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा दोस्रो स्थानको रियल मड्रिड भ्यालेन्सियासँग २-१ ले पराजित भएको छ ।
रियलको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली भ्यालेन्सियालाई जित दिलाउन मोउक्तर डिएखाबी र ह्युगो डुरोले गोल गरे । रियलका लगि भिनिसियस जुनियरले गोल गरे ।
खेलको १३औं मिनेटमा पाएको पेनाल्टीलाई भिनिसियसले सदुपयोग गर्न नसक्दा रियलले खेलमा अग्रता बनाउने मौका गुमाएको थियो । त्यसको दुई मिनेट पछि डिएखाबीले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, ५०औं मिनेटमा भिनिसियसले रियलका लागि बराबरी गोल फर्काए । त्यसपछि इन्ज्युरी समयको पाँचौं मिनेटमा डुरोले गोल गर्दा रियल भ्यालेन्सियासँग २-१ ले स्तबध भएको हो ।
अर्को खेलमा लिगको शीर्ष स्थानमा रहेको बार्सिलोना रियल बेटिससँग १-१ को बराबरीमा रोकियो ।
घरेलु मैदानमा बार्सिलोनाले सातौं मिनेटमा गाभीले गरेको गोलमा अग्रता लिएको थियो । तर १० मिनेटपछि नै नाथनले बेटिसका लागि बराबरी गोल फर्काए ।
त्यसपछि थप गाेल गर्न नसक्दा बार्सिलोना अंक बाँड्न बाध्य बन्यो ।
बराबरीका बाबजुद बार्सिलोनाले शीर्ष स्थानमा ४ अंकको अग्रता कायम गरेको छ । बार्सिलोनाको ३० खेलबाट ६७ अंक भएको छ । यता, पराजित रियल समान खेलबाट ६३ अंंकका साथ दोस्रो स्थानमा छ ।
लिगकै अन्य खेलमा केल्टा भिगोले मालोर्कालाई २-१ ले पराजित गर्दा एल्भ्सले जिरोनालाई १-० ले पराजित गर्यो ।
