दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिसो रबाडा इण्डियन प्रिमियर लिग (आइपिएल) बीचमै छोडेर दक्षिण अफ्रिका फर्किएका छन् ।

गुजरात टाइटन्समा आबद्ध रबडा व्यक्तिगत कारण देखाउँदै स्वदेश फर्किएका हुन् । गुजरातले बिहीवार विज्ञप्ति जारी गर्दै रबडा स्वदेश फर्किएको पुष्टि गरेको छ ।

रबडा महत्वपूर्ण व्यक्तिगत कामका लागि स्वदेश फर्किएका र कहिले फर्कने भन्ने उनले जानकारी नगराएको बताइएको छ ।

रबडाले आपिएल २०२५ मा गुजरातका लागि पहिलो दुई खेल खेलेका थिए । पहिलो खेलमा पञ्जाब किंग्ससँगको हारमा रबडाले ४१ रन खर्चिएर १ र दोस्रो खेलमा मुम्बई इन्डियन्सविरुद्धको जितमा ४२ रन खर्चेर १ विकेट लिएका थिए ।

बुधवार चिन्नास्वामी स्टेडियममा रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्धको खेलमा रबडा टोलीमा थिएनन् । टसमा कप्तान शुभमन गिलले रबडाको अनुपस्थितिको कारण व्यक्तिगत भनेका थिए ।

गुजरातले बेंगलुरुसँगको खेलमा रबडाको स्थानमा अलराउन्डर अर्शद खानलाई भित्र्याएको थियो । रबडा उपलब्ध नहुँदा त्यस खेलमा केवल तीन विदेशी खेलाडीहरू (जोस बटलर, राशिद खान र शेरफेन रादरफोर्ड) लाई मैदानमा उतारेको थियो । रादरफोर्ड पछिल्लो इनिङमा इम्प्याक्ट प्लेयरको रूपमा आएका थिए ।

गुजरातमा अन्य विदेशी विकल्पमा न्युजिल्यान्डका अलराउन्डर ग्लेन फिलिप्स र दक्षिण अफ्रिकाका तीव्र गतिका बलर जेराल्ड कोएट्जी छन् ।

पहिलो ३ खेलमा २ जित र १ हार बेहोरेको गुजरात अंक तालिकाको चौथो स्थानमा छ । गुजरातले अर्को आइतवार सनराइजर्स हैदरावादसँग र बुधवार राजस्थान रोयल्सको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *