पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार सेन्ट-एटिएनलाई ६-१ ले हराउँदै लिग १ उपाधि नजिक पुगेको छ । डेसाइर डोउएले दुई गोल गरेपछि पीएसजीले प्रभावशाली जित हात पार्यो ।

यस जितसँगै पीएसजी ७१ अंकसहित शीर्ष स्थानमा रहेको छ, जबकि दोस्रो स्थानको एएस मोनाको ५० अंकमा सीमित छ । मोनाकोले चौथो स्थानको नाइसलाई २-१ ले पराजित गरेको थियो ।

सात खेल बाँकी रहँदै, पीएसजी आगामी साता एंगर्सविरुद्ध कम्तीमा बराबरी खेल्न सकेमा लगातार चौथो लिग १ उपाधि पक्का गर्नेछ ।

घरेलु टोली सेन्ट-एटिएनले खेलको सुरुआत राम्रो गर्दै लुकास स्टासिनको हेडरमार्फत अप्रत्याशित अग्रता लिएको थियो । तर, पहिलो हाफको अन्त्यतिर गोन्जालो रामोसले पेनाल्टीमार्फत पीएसजीलाई बराबरीमा ल्याए । उनलाई फ्लोरियन टार्डियुले फाउल गरेका थिए ।

दोस्रो हाफमा पीएसजीले पूरै खेल आफ्नो नियन्त्रणमा लियो। खेलको ५०औं मिनेटमा ख्वारात्स्खेलियाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि तीन मिनेटमै ब्राडली बारकोलाको असिस्टमा डेसाइर डोउएले तेस्रो गोल थपे ।

पीएसजीको आक्रमण त्यतिमै रोकिएन । ६२औं मिनेटमा जोआओ नेभेसले चौथो गोल गरे भने चार मिनेटपछि डोउएले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ५-१ को अग्रता दिलाए ।

सेन्ट-एटिएनले पेनाल्टीको आशा गरेको थियो, जब नुनो मेंडेसले लुकास स्टासिनलाई पेनाल्टी क्षेत्रभित्र लडाए । तर, भिएआर समीक्षा पछि निर्णय उल्टाइयो ।

खेल सकिनै लाग्दा इब्राहिम म्बायेले पीएसजीका लागि छैटौं गोल गर्दै टोलीको जितलाई अझै प्रभावशाली बनाए । यो लिग १ मा उनको पहिलो गोल थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *