दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिले नेपालका पुरुषोत्तम कट्टेललाई महासचिवमा नियुक्त गरेको छ ।

अनवरुल हकको राजीनामापछि कट्टेललाई उक्त जिम्मेवारी दिइएको हो । २०१५ देखि महासचिव रहेका हकले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए । कट्टेलले अप्रिल १ देखि आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।

शासन व्यवस्था तथा फुटबल प्रशासनमा लामो अनुभव बटुलेका कट्टेल यसअघि एसियन फुटबल कन्फेडेरेसन (एएफसी) को दक्षिण एसिया इकाई प्रमुखका रूपमा १७ वर्ष काम गरेका थिए ।

कट्टेलले एएफसीमा अन्तर्राष्ट्रिय सम्बन्ध व्यवस्थापनदेखि विभिन्न फुटबल प्रतियोगिताहरूको सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

महासचिवमा नियुक्त भएपछि कट्टेलले दक्षिण एसियाली फुटबलको विकासका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका छन् । ‘साफको महासचिवका रूपमा जिम्मेवारी सम्हाल्न पाउँदा म अत्यन्त उत्साहित छु । दक्षिण एसिया चुनौतीपूर्ण क्षेत्र भए पनि यसमा ठूलो सम्भावना छ । म यो क्षेत्रको फुटबल विकासका लागि आफ्नो अनुभव प्रयोग गर्नेछु,’ कट्टेलले भने ।

कट्टेलले महासंघका अध्यक्ष काजी सलाउद्दिन र कार्यकारी समितिलाई आफूलाई विश्वास गरेकोमा धन्यवाद पनि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *