एएफसी वुमन्स एसियन कप २०२६ छनोटमा नेपाल पट २ मा परेको छ ।
एसियाली फुटबल महासंघ (एएफसीले) बुधबार छनोटको ‘ड्र’ लागि पट सार्वजनिक गर्दा पट २ मा नेपालसहित इन्डोनेसिया, जोर्डन, भारत, हङकङ, बहराइन, गुआम र मलेसिया परेका हुन् ।
पट १ मा भियतनाम, उज्वेकिस्तान, थाइल्यान्ड, म्यानमार, उत्तर कोरिया, फिलिपिन्स, चाइनिज ताइपेइ र इरान तथा पट ३ मा भने कम्बोडिया, लाओस, युएई, मंगोलिया, लेबनान, बंगलादेश, काजकिस्तान र प्यालेस्टाइन छन् ।
पट ४ मा तुर्किमिस्तान, ताजकिस्तान, सिंगापुर, पाकिस्तान, श्रीलंका, टिमोर लिस्टे, माल्दिभ्स र साउदी अरेबिया रहँदा पट ५ मा भने दुई टोली इराक र भुटानलाई मात्र राखिएको छ ।
प्रतियोगिताको मुख्य ‘ड्र’ बिहीबार मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा हुनेछ ।
सन् २०२६ मा अष्ट्रेलियामा हुने वुमन्स एसियन कपमा आयोजकसहित चार स्वत छनोट भइसकेका छन् । बाँकी ८ स्थानका लागि छनोट चरणमा एसियाका ३४ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
छनोटमा सहभागि ३४ टोलीलाई ८ समूहमा विभाजन गरिनेछ । जसमा ६ समूहमा ४-४ टिम हुनेछन् भने दुई समूहमा ५-५ टिम हुनेछन् ।
८ वटा समूहको समूह विजेता एएफसी वुमन्स एसियन कप २०२६ मा छनोट हुनेछ ।
एसिया क्षेत्रको छनोट सन् २०२७ मा ब्राजिलमा हुने फिफा वुमन्स विश्वकपको लागि समेत छनोटको रुपमा रहनेछ । वुमन्स एसियन कपमा शीर्ष ६ मा रहने टिम वुमन्स विश्वकपमा सिधै छनोट हुनेछ ।
