बाँसबारी युथ क्लबले शहिद स्मारक ‘बी’ डिभिजन लिगमा रोमाञ्चक जित निकालेको छ ।
बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बाँसबारीले रानी पोखरी कर्नर टिम (आरसीटी) माथि ४-२ को रोमाञ्चक जित निकालेको हो ।
रोमाञ्चक खेलको पहिलो हाफमा बाँसबारीले दुई गोलको अग्रता लिएको थियो । बाँसबारीका लागि सरोज दर्लामी मगरले १६ र बिके राईले २५औं मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा आरसीटीले खेलमा पुनरागमन गर्यो ।
५२औं मिनेटमा मन्जिल खड्काले गोल गर्दै आरसीटीको आशालाई जीवितै राखेका थिए । ७४औं मिनेटमा सुदीप लामाले बराबरी गोल फर्काए ।
तर, आरसीटीले चार मिनेटपछि तेस्रो गोल खायो । संगम खाण्ड ठकुरीले पेनाल्टीमार्फत बाँसबारीलाई पुनः अग्रतामा ल्याए । निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा बिकेले व्यक्तिगत दोस्रो गर्दै बाँसबारीको जित सुनिश्चित गरे ।
बाँसबारीको यो पहिलो जित हो भने आरसीटी लगातार दोस्रो हार बेहोर्न पुग्यो । दुई खेलबाट बाँसबारीले ३ अंक बनाएको छ । यसअघि बाँसबारी सरस्वती युथ क्लबसँग २-१ ले हारेको थियो ।
लगातार दोस्रो खेलमा पराजित आरसीटीले अंकको खाता खोल्न सकेन । आरसीटी पहिलो खेलमा श्री भगवती क्लबसँग ३-१ ले पराजित भएको थियो ।
लिग अन्तर्गत भोलि सरस्वती युथ क्लब र नयाँ बस्तीबीच खेल हुनेछ ।
