विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

बुधबार भएको अन्तिम क्वाटरफाइलन खेलमा आयोजक लालिगुँरास स्पोर्टिङ क्लब रानी मिल्स एरियालाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै लेटाङ्ग फुटबल क्लब मोरङले अन्तिम चारमा प्रवेश गरेपछि सेमिफाइनल समिकरण पूरा भएको हो ।

यसअघि टीएफसी तालतलैया, फ्युजन फुटबल क्लब र पेमा स्पोर्टिङ क्लब सेमिफाइनलमा पुगिसकेका छन् । अब लेटाङले फाइनल प्रवेश्का लागि शुक्रबार घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

विराटनगरको जुट मिल खेल मैदानमा भएको खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको थियो । 

टाइब्रेकरमा लेटाङ्गका पुजन चौधरी, तेजन गुरुङ, सौगात राई र सुजन तिलवाले गोल गरे । आयोजकका आशिष लावती र रमेश चौधरीले मात्रै गोल गरे भने विवेक राई र कैलाश बस्नेतले गरेको प्रहार लेटाङका गोलरक्षक पूर्ण चेम्जोङले रोकेका थिए ।

खेलको म्यान अफ दि म्याच पूर्ण नै घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ प्राप्त गरे ।

यसअघि खेल सुरू भएको चौथो मिनेटमा भुवन बस्नेतले आयोजकलाई अग्रता दिलाएका थिए । तर, आयोजकले अग्रता लिएको १३ मिनेट बित्न नपाउँदै लेटाङले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको १६ औं मिनेटमा लेटाङका अनोप मगरले निकालेको पासलाई सागर तिवारीले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।

बराबरीमा आएपछि खेल रोमान्चक बन्यो । दुवै टिमका खेलाडीहरुले निर्धारित समयमा गोल गर्ने थुप्रै अवसर खेर फाल्दा खेल टाइब्रेकरतर्फ धकेलियो । त्यसपछि टाइब्रेकरमा लेटाङले जित निकाल्न सफल भयो ।

प्रतियोगिता अन्तर्गत बिहीबारको पहिलो सेमिफाइलन खेल गाइघाटको फ्यूजन फुटबल क्लब र इटहरीको टीएफसी तालतलैयाबीच हुनेछ ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा जारी प्रतियोगितामा कुल ८ वटा टोलीको सहभागिता रहने छ । चैत १० गतेसम्म चल्ने यस प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद दुई हजार एक सय रुपैयाँ प्राप्त गर्नेछन् । विधागत पुरस्कार जनही तीन हजार एक सय रुपैयाँ निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *