नेपालकी सुमित्रा नगरकोटीले २०औं डब्लुएमएफ विश्व मुवाँथाईंमा रजत पदक जितेकी छन् ।
नेपालले थप १ कांस्य पनि जितेको नेपाल राष्ट्रिय मुवाँथाईं संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । कक्षपतिका अनुसार थाइल्यानडको बैंककमा भएको प्रतियोगितामा परिका बतासले कांस्य जितिन् ।
महिला ५७ केजीमा सुमित्राले इटालीकी मिचेला पिन्नालाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेकी थिइन् । फाइनलमा ब्राजिककी क्यामिला मोस्म्यानसंग चुकेपछि सुमित्रा रजतमा सीमित भइन् । सुमित्रा भरातमा गत वर्ष भएको इन्डो-नेपाल प्रोफेसनल फाइटकी स्वर्ण विजेता हुन् ।
महिला ४८ केजीको सेमिफाइनलमा क्याथ्रिन स्टेभेन्ससंग पराजित हुँदै परिकाले कांस्यमा चित्त बुझाइन् । परिकाले विश्व मुवाँथाईंको १९औं संस्करणमा भने स्वर्ण जितेकी थिइन् ।
नेपालबाट ६ खेलाडी सहभागी भएकोमा अकेश केसी, मिलन तामाङ, गुमन घर्ती मगर र आशिष तामाङ पदकविहीन बने । प्रशिक्षकमा राहुल मोक्तान रहेका छन् । सञ्जय राईले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
मार्च ९ देखि १८ तारिखसम्म भएको प्रतियोगितामा ३२ राष्ट्रका ३ सय ५२ खेलाडीले प्रतिस्पर्धा गरेको मुवाँथाईं संघले जनाएको छ ।
