नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइच टोली एफसी चितवनले उज्बेकिस्तानी मिडफिल्डर नोडिरबेक माभ्लोनोभलाई भित्र्याएको छ।
२९ वर्षीय माभ्लोनोभलाई चितवनले तेस्रो संस्करणका लागि टोलीमा भित्र्याएको हो । उनले उज्बेकिस्तानको यु-२३ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् ।
उनले बंगलादेशक ब्रदर्श युनाइटेड, शेख जमाल, स्वाधिन्ताजस्ता क्लबबाट लिग खेलेका छन् । यस्तै, उनीसँग उज्बेकिस्तानको घरेलु लिगको पनि अनुभव छ।
माभ्लोनोभ चितवनले अनुबन्ध गरेको दोस्रो विदेशी खेलाडी हुन् । यसअघि चितवनले अमेरिकाका डिफेण्डर जोनाथन क्याम्पबेललाई अनुबन्ध गरिसकेको छ ।
यसअघिका दुई संस्करणमा कमजोर प्रदर्शन गरेको चितवनले यसपटक मार्की प्लेअरदेखि प्रशिक्षक परिवर्तन गर्दै नयाँ टिम निर्माण गरेको छ ।
राष्ट्रिय टिमका लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका अन्जन विष्टलाई मार्की बनाएको चितवनले नविन न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । यसअघि अघिल्लो सिजनका मार्की तथा कप्तान गोलकिपर विशाल श्रेष्ठलाई पनि चितवनले रिटेन गरेको छ ।
चितवनले डिफेण्डर छिरिङ गुरुङ र मिडफिल्डर रोशन राना मगरलाई पनि रिटेन गरेको थियो । यस्तै चितवनले अक्सनमा क्याटेगोरी ए का अभिषेक लिम्बु र सुमित श्रेष्ठ तथा क्याटेगोरी बी का शिशिर लेखी र जय गुरुङलाई अनुबन्ध गरेको थियो ।
चितवनले क्याटेगोरी ‘बी’ का मिलन राई र निरज चौधरी जस्ता खेलाडी पनि अक्सनबाट लिएको थियो । क्याटेगोरी ‘सी’ को ड्राफ्टबाट चितवनले विवेक गुरुङ, शिशिर चौधरी, विशाल स्याङ्गतान र प्रदिप भण्डारीलाई अनुबन्ध गर्यो ।
यस्तै चितवनले लोकल स्टारको रुपमा रोजल दाहाल र ट्यालेन्ट हन्टबाट रुकी गणेश नेपालीलाई अनुबन्ध गरेको छ ।
चितवनले एनएसएलको पहिलो खेलमा पोखरा थन्डर्सलाई चुनौती पेस गर्नेछ । यी दुईबीचको खेल चैत १८ गते हुनेछ ।
