साउदी क्लव अल नासर एएफसी च्याम्पियन्स लिग इलिटको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार राति भएको दोस्रो लेगको खेलमा इरानी क्लब एस्तेघलाल एफसीलाई ३-० गोलअन्तरले पराजित गर्दै अल नासर क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । अल अवाल पार्कमा घरेलु टोली अल नासरलाई जित दिलाउन जोन डुरानले दुई तथा कप्तान क्रिस्टियानो रोनाल्डोले एक गोल गरे ।
खेलको नवौं मिनेटमा डुरानले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए । २७औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । प्रतियोगितामा यो उनको सातौं गोल हाे ।
एस्तेघलालका खेलाडीले बक्स भित्र साडियो मानेलाई लडाएपछि अल नसारले पेनाल्टीको अवसर पाएको थियो । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एस्तेघलालका मेहरान अहमदी रातो कार्ड खाँदै मैदानबाट बाहिरिए १० खेलाडीमा सीमित भएको थियो ।
त्यसपछि खेलको ८४औं मिनेटमा डुरानले व्यक्तिगत दोस्रो गोल गरेपछि अल नासर ३-० को जित निकाल्न सफल भयो ।
