उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई टाइब्रेकरमा पराजित गर्दै धरान एफसी मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार काँकरभिट्टा खेल मैदानमा भएको खेलमा ब्ल्याक बुल्सलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै धरानले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
निर्धारित समयको खेल १–१ को बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । लगातार दोस्रो दिन मेचीनगर गोल्डकपको नतिजा पेनाल्टी सुटआउटमा निस्केको हो । आइतबार चर्च ब्वाइज युनाइटेडले झापा एफसीलाई सडनडेथमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।
टाइब्रेकरमा धरानका वैकल्पिक गोलकिपर बिपुर मगर नायक बने । पहिलो प्रहार गर्न आएका उज्वेकिस्तानका असिवेक अरिफजोनोभको प्रहार विपुलले रोकेका थिए । प्रशिक्षक हेमकुमार गुरुङले प्रविन लिम्बूको स्थानमा विपुललाई मैदान पठाएका थिए ।
धरानको लागि मिलन राई, सुरज रसाइली, प्रज्वल थापा, अजय विष्ट र सुगम जिमीसहित पाँचै खेलाडी सफल भए । ब्ल्याक बुल्सको लागि खुसान गानिजानोभ, अजिजबेक खुर्सिनबोभ र कुभेनच्बेक ओलिमोभले गोल गरेका थिए ।
अब धरानले फाइनल प्रवेशका लागि आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग फागुन २४ मा प्रतिस्पर्धा गर्नेछ । काँकरभिट्टाले भारतीय टोली जर्जियन एफसीलाई ४–२ ले हराउँदै सेमिफाइनलमा स्थान बनाइसकेको छ ।
यसअघि ब्ल्याक बुल्स एफसीको लागि ५९औं मिनेटमा असिबेक अरिफजोनोभले गोल गरेका थिए । १८ यार्ड बक्सभित्रबाट इस्लोम्जोन अब्दुकोडिरोभले मिलाएको बललाई सिक्स यार्ड बक्समा अनमार्क रहेका असिबेकले हेडर गोल गर्दै अग्रता दिलाएका हुन् ।
खेलको ८३औं मिनेटमा धरानले बराबरी गोल गर्यो । सुगम जिमीले गोल गरेका हुन् । सुरज रसाइलीले मैदानको बायाँ भागबाट मिलाएको पासलाई वैकल्पिक खेलाडी सुगमले सदुपयोग गर्दै टोलीको हार टारेका थिए ।
खेलभर मिलन राईको कप्तानीमा रहेको धरानले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । टोलीमा मिलानसहित विक्रम धिमाल, तपन कार्की, रोमन लिम्बू, मौसम सुब्बा जस्ता खेलाडी समावेश थिए ।
आहा रारा गोल्डकप विजेता ब्ल्याक बुल्सले टिममा नेपालका सान्जियो लिम्बू, सुजात डंगोल र सामिप्य सुवेदीलाई समावेश गरेको थियो । केपी ओली कपको पहिलो खेलमै पराजित भएपछि टोलीले मेचीनगर गोल्डकप खेलेको हो ।
मंगलबार हुने खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबबिच प्रतिस्पर्धा हुनेछ । आठ टिम सहभागी प्रतियोगिताको पाँचौँ संस्करणको विजेताले १० लाख र उपविजेता टिमले ५ लाख रुपैयाँ पाउनेछन् ।
