जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ को मुख्य उपाधि जंगु थारू र रुपा थारूले जितेका छन् ।
पाँच किलोमिटर दुरीको क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२:५८ मिनेटमा निर्धारित दुरी पूरा गरि प्रथम हुँदा विशाल थारू (५७:५६) दोस्रो र बिमलेस यादव (५७:५८) तेस्रो भए ।
शीर्ष तीन खेलाडीलाई क्रमश नगद रु सात हजार, पाँच हजार र तीन हजारका साथै ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरियो । त्यसैगरी इलाइट महिलातर्फ रुपाले ४३:३६ मिनेटको समय निकालेर कोर्ष पूरा गर्दा कविता सार्कीले ४६:४२ मिनेटको समय निकाल्दै दोस्रो र सीता सार्की ४७:२८ मिनेटसहित तेस्रो भइन् ।
शीर्ष तीन जनाले क्रमश नगद सात हजार, पाँच हजार र तीन हजारका साथै पदक, प्रमाणपत्र पाउन सफल भए । नेपालगन्ज नजिकै डुडुवा गाउँपालिकामा अवस्थित ट्रेल कोर्षमा भएको रेसमा मास्टरतर्फ देव बोहरा (३४:३१) पहिलो, दीपक मल्ल (३८:४२) दोस्रो र विशाल श्रेष्ठ (४१:०६) तेस्रो भए ।
मास्टर तर्फका शीर्ष तीन जनालाई नगद रु सात हजार, पाँच हजार र तीन हजारका साथै पदक प्रमाणपत्रले कदर गरियो। त्यस्तै भेट्रानतर्फ अजय केसी (४१:०३), जितेन्द्र थारू (४२:०८) र कविराम थारू (४४:५१) ले क्रमशः शीर्ष तीन स्थान हासिल गरे ।
युसिआई क्रसकन्ट्री ओलम्पिक फर्म्याटमा सञ्चालन गरिएको रेसमा जुनियर विधामा दिलोचन बोहराले ३५:४४ समय निकाल्दै पहिलो, वीरेन्द्र धोबीले ३५:५५ समय लिई दोस्रो र रन्जित चौहानले ३७:०८ समय लिएर तेस्रो स्थान सुरक्षित गरे ।
भेट्रान र जुनियरतर्फ शीर्ष तीनले पाँच हजार, तीन हजार र दुई हजार नगदका साथै पदक प्रमाणपत्र प्राप्त गरे ।
डुडुवा गाउँपालिका स्थित जंगलमा रहेको यो कोर्ष साइक्लिङका लागि निकै नै सुन्दर र आकर्षक मानिन्छ ।साइकल मार्फत पर्यटक भित्र्याउन गाउँपालिकाले यश रेसलाई महत्त्वपूर्ण आर्थिक सहयोग गरेको रेस आयोजक नेपालगन्ज बाइसाइकल्सका प्रमुख गगन थापाले जानकारी दिए । टिम द एजको सहकार्यमा भएको यो रेस हरेक बर्ष सञ्चालन गरिने थापाले बताए ।
