केपी ओली कप फुटबल च्याम्पियनसिपको उपाधिका लागि मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । दुबैबीचको खेल दशरथ रंगशालामा आज साँझ ६ बजेबाट फाइनल सुरू हुनेछ ।

मछिन्द्र क्लबले शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा प्रतियोगिताको विजेताले १५ लाख ११ हजार एक सय ११ र उपविजेताले ५ लाखसहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार पाउनेछन् ।

फाइनल खेलमा विश्वचर्चित फुटबल खेलाडी इटालीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफोन प्रमुख अतिथिको रुपमा रहनेछन् । फाइनलअघि कुमा सागर, पुर्ण राईको प्रस्तुती रहनेछ ।

प्रतियोगितामा दुई विदेशसहित ९ टोलीले सहभागिता जनाएका थिए । फाइनल खेल त्रिपुरेश्वरस्थित वल्डटेड सेन्टरको डिजिटल बोर्डबाट समेत खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *