म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पार्दै फुलह्याम एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
ओल्ड ट्र्याफोर्डमा आइतबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर युनाइटेडलाई टाइब्रेकरमा ४-३ पराजित गर्दै फुलह्यामले अन्तिम आठको यात्रा तय गरेको हो ।
निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । टाइब्रेकरमा फुलह्यामले ४ मध्ये ४ गोल गर्दा युनाइटेडले ५ प्रयासमा २ मिस गर्यो ।
त्यसअघि निर्धारित समयमा पहिलो हाफको अन्त्यतिर केल्भिन बासेले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा ब्रुनो फर्नान्डेजले बराबरी गोल फर्काउँदै युनाइटेडलाई खेलमा फर्काएका थिए ।
युनाइटेडले गतवर्षको फाइनलमा म्यान्चेस्टर सिटीलाई हराएर उपाधि जितेको थियो । युनाइटेडले दोस्रो सर्वाधिक १३ पटक एफए कपको उपाधि जितेको छ । आर्सनलको नाममा १४ उपाधि छ । आर्सनल पनि युनाइटेडसँग तेस्रो चरणमा पराजित हुँदै बाहिरिसकेको छ ।
