अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो ।

अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेको अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन ।

पाकिस्तानको लाहोरमा २ सय ७४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले दमदार सुरुवात गर्दै १२.५ ओभरमा १ विकेट गुमाएर १ सय ९ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो ।

ट्राभिस हेड ५९ र स्टिभ स्मिथ १९ रनमा नआउट रहे । म्याट शर्ट २० रनमा आउट भए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो।

सदिकुल्ला अटल र अजमतुल्लाले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ रन बनाए। अजमतुल्लाले ६३ बल १ चौका र ५ छक्कासहित ६७ रन जोडे ।

कप्तान हस्मातुला शाहिदीले २०, ओपनर इब्राहिम जाद्रनले २२, रसिद खानले १९, रहमत शाहले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अस्ट्रेलियाका बेन द्वारस्विसले ३, स्पेन्सर जोन्सन, एडन जाम्पाले समान २ तथा नाथन इल्स र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए।

अब समूह ‘बी’ बाट अफगानिस्तानको झिनो गणितिय सम्भावना बाँकी नै रहँदा इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबिचको खेलपछि सेमिफाइनल समीकरण पूरा हुनेछ ।

शनिवार हुने खेलमा दक्षिण अफ्रिका विजयी भएमा समूह विजेता बन्नेछ । इङ्ग्ल्याण्डले सामान्य अन्तरको जित निकाल्दा पनि दक्षिण अफ्रिका नै सेमिफाइनलमा पुग्नेछ । इङ्ग्ल्याण्डले निकै फराकिलो अन्तरको जित निकाले मात्र अफगानिस्तानको सम्भावना रहन्छ ।

समूह ‘ए’ बाट न्युजिल्याण्ड र भारत सेमिफाइनल पुगिसकेका छन् भने पाकिस्तान र बंगलादेश प्रतियोगिताबाट बाहिरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *