फिफा विश्वकप विजेता इटालीका लिजेन्ड गोलकिपर जियानलुइजी बुफोनले आफू नेपाल आउन लागेको जानकारी दिएका छन् ।
शुक्रबार भिडियो सन्देश दिँदै विश्व विजेता बुफोनले तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलका लागि नेपाल आउन लागेको बताएका हुन् ।
‘नमस्ते सबै जनालाई म जिजी बुफोन, केपी ओली कपको फाइनलमा चिफ गेष्टका रूपमा मार्चको पहिलो हप्ता म नेपाल आउँदै छु । सबै जनालाई त्यही भेटौँला,’ उनले भनेका छन् ।
बुफोन केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा सहभागी हुन १८ फागुनमा नेपाल आइपुग्ने छन् । बुफोन केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा सहभागी हुन १८ फागुनको बिहान नेपाल आइपुग्ने तालिका रहेको आयोजक युवा संघ नेपालका सचिव निरोज पौडेलले जानकारी दिए ।
तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनल १९ फागुनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । सचिव पौडेलका अनुसार सुरुमा ब्राजिलियन स्टार रोनाल्डिन्हो र रोबेर्टो कार्लोसलाई नेपाल ल्याउन प्रस्ताव गरिएको थियो । कार्लोसले नेपाल आउने इच्छा पनि देखाएका थिए । तर, कार्यक्रम जुधेको भन्दै अन्तिममा कार्लोसले नेपाल आउने कार्यक्रमलाई स्थगित गरेका थिए ।
बुफोन करिब एक साता काठमाडौंमा रहने सचिव पौडेलले बताए सचिव पौडेलका अनुसार, बुफोनले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका राजनीतिक दलका नेताहरूलाई पनि भेट्ने छन् । बुफोन सन् २००६ का फिफा विश्वविजेता हुन् ।
सन् २००६ मा बर्लिनमा भएको फाइनल खेलमा टाइब्रेकरमा फ्रान्सलाई ५-३ गोलअन्तरले पराजित गर्दै इटालीले विश्वकप फुटबलको उपाधि जितेको थियो । त्यतिबेला इटालीको गोलपोस्टको जिम्मेवारी बुफोनले सम्हालेका थिए । बुफोनले इटालीको राष्ट्रिय टिमबाट कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
