दुहबी । सुनसरीको दुहबीमा सम्पन्न सातौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ७ ले हात पारेको छ ।
बिहिवार दुहबी-५ स्थित श्री सरस्वती माविको खेल मैदानमा भएको फाइनल खेलमा वडा नम्बर १० लाई २-० गोलले हराउँदै वडा नम्बर ७ ले सातौं संस्करणको मेयर कपको उपाधि चुम्न सफल भएको हो ।
वडा नम्बर ७ लाई उपाधि दिलाउन अंकित चौधरी नायक सावित भए । उनकै दुई गोलमा वडा नम्बर ७ ले उपाधि हात पारेको हो ।
उपाधिसँगै वडा नम्बर ७ ले नगद १,२५,२२२ रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता बनेको वडा नम्बर १० ले ७५,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
फाइनल खेलको म्यान अफ द म्याच वडा नम्बर ७ का देबा कुमार रिसिदेव घोषित भए । उनले नगद २ हजार र ट्रफी प्राप्त गरे ।
उत्कृष्ट गोलरक्षक वडा नम्बर ७ का सुलभ विश्वास, उत्कृष्ट डिफेन्डर वडा नम्बर ७ कै पारस चौधरी, उत्कृष्ट मिडफिल्डर वडा नम्बर १० का प्रल्हाद कुमार माझी, उत्कृष्ट फरवार्ड वडा नम्बर ७ का अनिल चौधरी र उत्कृष्ट प्रशिक्षक वडा नम्बर ७ कै राम सुन्दर थन्दार घोषित भए । उनीहरुले जनही ५ हजार रुपैयाँ र ट्रफी हात पारे ।
सर्वाधिक गोलकर्ताको पुरस्कार भने वडा नम्बर ७ का अंकित चौधरीले हात पारे । प्रतियोगिताभरि कुल ४ गोल गरेका अंकितले नगद ६ हजार र ट्रफी प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि अंकित नै बने । त्यसवापत उनले नगद ७ हजार र ट्रफी हात पारे ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी दुहबी नगरपालिका, सुनसरीका नगरप्रमुख बेदनारायण गच्छदार लगायतले पुरस्कृत गरेका थिए ।
दुहबी नगरपालिका, दुहबी, सुनसरीको आयोजना तथा इलेभन एरोज क्लब, दुहबी, सुनसरीको संयोजनमा सम्पन्न प्रतियोगितामा दुहबी नगरका कुल १२ वडाका टोलीहरुले सहभागिता जनाएका थिए ।
