विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव-२०८१ को दोस्रो दिन प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगिताको उपाधि मोरङले हात पारेको छ ।

आज विराटनगरस्थित दिल्ली पब्लिक स्कूलको मैदानमा झापालाई ३१-२० अंकले पराजित गर्दै मोरङले उपाधि हात पारेको हो ।

कोशी प्रदेशका १३ टिमको सहभागिता रहेको प्रतियोगितामा मोरङले उपाधि सँगै ट्रफी, मेडल र १ लाख नगद पुरस्कार प्राप्त गरेको छ भने झापाले उपविजेताको ट्रफी, मेडल र ५० हजार नगद पुरस्कारमा चित्त बुझाएको छ ।

प्रदेशस्तरीय महिला फुटबलमा झापा, मोरङ, सुनसरी र धनकुटा विजयी

प्रथम कोशी खेलकुद महोत्सव २०८१ अन्तर्गतको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा झापा, मोरङ, सुनसरी र धनकुटा विजयी भएका छन् ।

आज दिल्ली पब्लिक स्कूलको मैदानमा सम्पन्न पहिलो खेलमा झापाले तेह्रथुमलाई ६-० गोलले हरायो । झापाको जितमा जेनिफर मगरले २ तथा सिम्रन राई, मंजिला योङ्गहाङ्ग, रेणु लिम्बू र खुस्मा राईले समान १ गोल गरे ।

त्यस्तै, आजको दोस्रो खेलमा मोरङले खोटाङलाई १-० गोलले स्तब्ध बनायो । मोरङको लागि रेसना राईले खेलको १५ औं मिनेटमा निर्णायक गोल गर्नु भएको थियो ।

आजको तेस्रो खेलमा सुनसरीले सोलुखुम्बुलाई ३ – ० गोलले पराजित गर्यो । सुनसरीको लागि जुनु लिम्बूले २ र सुमित्रा राईले १ गोल गर्नु भएको थियो।

चौथो खेलमा धनकुटाले ओखलढुङ्गालाई १-० गोलले निराश बनायो । धनकुटाका लागि अनिशा राईले निर्णायक गोल गरिन् ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले फागुन १३ देखि १८ गते सम्म चल्ने खेलकुद महोत्सवमा हालसम्म एथलेटिक्सका स्पर्धाहरु, डोरीतान र पुरुष कबड्डी प्रतियोगिता सम्पन्न भैसकेको जानकारी गराए ।

महोत्सवमा प्रदेशस्तरीय महिला फुटबल, महिला तथा पुरुष दौड, पुरुष कब्बड्डी, भेट्रान बाघचाल, महिला तथा पुरुष टेबलटेनिस, महिला तथा पुरुष बुद्धिचाल, महिला तथा पुरुष कराते, महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्टटेनिस र डोरीतान लगायतको खेलकुद प्रतियोगिता समावेश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *