कोशी खेलकुद विकास बोर्डले आयोजना गरेको ‘प्रथम कोशी खेलकुद महोत्सव’ मंगबारदेखि विराटनगरमा सुरु भएको छ । 

बोर्डले पहिलो पटक आयोजना गरेको खेलकुद महोत्सवअन्तर्गत विराटनगर र झापाको दमकमा विभिन्न खेलहरुमा प्रतिस्पर्धा हुनेछ ।

फाल्गुन १८ गतेसम्म सञ्चालन हुने खेलकुद महोत्सवमा प्रदेशभरबाट विभिन्न खेलमा १ हजारभन्दा बढी खेलाडीहरुको सहभागिता रहेको छ ।  

खेलकुद महोत्सवको पहिलो दिन एथलेटिक्सको सडक दौड र डोरीतानका खेल सम्पन्न भएका छन् ।  ५ किलोमिटर सडक दौडको पुरुषतर्फ तेह्रथुमका सरोज लिम्बूले १५ मिनेट ४४ सेकेन्डमा दौड पूरा गर्दै प्रथम, पाँचथरका ओसन राईले १५ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रा र ताप्लेजुङका अमिर लिम्बूले १६ मिनेट ११ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए ।

महिलातर्फ खोटाङकी दीपा बस्नेतले १९ मिनेट ४० सेकेन्डमा दौड पूरा गर्दै प्रथम, पाँचथरकी पुष्पाले २० मिनेट १३ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो र संखुवासभाकी सुनकला राईले २० मिनेट ३२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भइन् ।

त्यस्तै, १ सय मिटर दौडको पुरुषतर्फ झापाका सुजन मण्डल ११.४० सेकेन्डमा दौड पूरा गर्दै प्रथम, सुनसरीका सुमित गच्छदारले ११.७० सेकेन्डमा दौड पूरा गर्दै दोस्रो र मोरङका सन्तोषकुमार सहनीले १२.१० सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए ।  

महिलातर्फ मोरङकी बिनिशा रिजालले १३.४० सेकेन्डमा दौड पूरा गर्दै प्रथम, सुनसरीकी आरती चौधरीले १४.५० सेकेन्डमा दौड पूरा गर्दै दोस्रो र इलामकी रश्मी राईले १४.६ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो भइन् ।  

त्यसैगरी, डोरीतान प्रतियोगिताको उपाधि झापाले जितेको छ भने सोलुखुम्बु दोस्रो भयो । विजेता तथा उपविजेताले क्रमश ५० हजार र २५ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । डाेरीतानमा प्रदेशको ११ वटा जिल्लाको सहभागिता रहेको थियो ।

खेलकुद महोत्सवमा महिला फुटबल, महिला तथा पुरुष दौड, महिला तथा पुरुष कबड्डी, भेट्रान बाघचाल, महिला तथा पुरुष टेबलटेनिस, महिला तथा पुरुष बुद्धिचाल, महिला तथा पुरुष कराते, महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्टटेनिस तथा डोरीतानलगायतको खेल समावेश गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *