युवा तथा खेलकुद मन्त्रालयले २७वटा राष्ट्रिय खेल संघहरुलाई आज (आइतबार) पत्राचार गर्दै मन्त्रालयमा उपस्थितिका लागि निर्देशन दिएको छ ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीका स्वीकिय सचिव तेजेन्द्र चौधरीद्वारा गरिएको पत्राचारमा खेलकुदमन्ती चौधरीको कार्यकक्षमा विशेष बैठकको आयोजना हुन गइरहेको जानकारी गराउँदै आज अपरान्ह ४ बजे २७ वटा राष्ट्रिय खेल संघका अध्यक्ष तथा महासचिवलाई उपस्थित हुन निर्देशन दिएको छ ।
मन्त्रालयले गरेको पत्राचारमा खेलकुदमन्त्री चौधरीको कार्यकक्ष सिंहदरबारमा हुने विशेष वैठकमा २७ वटा संघका पदाधिकारीलाई आफ्नो संघको आधिकारिक लेटरप्याड र स्ट्याम्प (छाप) समेत लिएर आउन अनुरोध गरिएको छ ।
खेलकुद मन्त्रालयले राष्ट्रिय संघका महासचिव र अध्यक्षलाई सम्बोधन गरि पत्राचार गर्दै आज दिउँसो आफ्नो संघको आधिकारिक लेटरप्याड र स्ट्याम्प (छाप) समेत लिएर आउन अनुरोध गरेपनि विशेष बैठकको एजेन्डा भने खुलासा गरिएको छैन ।
