नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारीसम्मिलित एन अभान्ट ग्वेनगाम्पले फ्रान्सको शीर्ष डिभिजनमा फराकिलो हार बेहोरेको छ ।
शनिबार राति भएको खेलमा लिओनसँग ७–० ले पराजित भएको हो । शीर्ष स्थानको टोलीविरुद्ध पहिलो हाफमा ३–० ले पछि परेको ग्वेनगाम्पले दोस्रो हाफमा थप चार गोल बेहोर्न पुग्यो ।
यो हारपछि ग्वेनगाम्प १२ टिम सहभागी लिगको रेलिगेशन क्षेत्रमै छ । १५ मध्ये १ मात्रै खेल जितेर ३ अंक जोडेको ग्वेनगाम्प पुछारमा छ ।
१५ मध्ये १४ खेल जितेर अपराजित रहेको लिओन ४३ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको पेरिस ३६ अंकसहित दोस्रो स्थानमा छ ।
साम्बाले यो खेलमा सुरुआती ११ मै स्थान बनाएकी थिइन् । उनले १५ मध्ये सात खेलमा सुरुआती ११ मा स्थान बनाएकी छन् । बाँकीमा भने उनी वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गर्दै आएकी छन् । उनले क्लबबाट एक गोल मात्रै गरेकी छन् ।
नेपाली राष्ट्रिय महिला टोलीको जर्सीबाट सर्वाधिक ५५ गोल गरिसकेकी साम्बा पछिल्लो समय फ्रान्समा व्यवसायीक फुटबल खेलिरहेकी छन् ।
अब सावित्रा फोर नेसन्स कप खेल्न सोमबार नेपाल आइपुग्नेछिन् । सोमबारबाटै सुरु हुने खेलमा नेपालसहित म्यानमार, लेवनान र कीर्गिस्तान सहभागी छन् ।
सोमबार हुने उद्घाटन खेलमा नेपालले किर्गिस्तानलाई चुनौती प्रस्तुत गर्नेछ ।
