२४औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । पोखरा रंगशालामा २२ गतेदेखि सुरू हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक सहारा क्लबले जनाएको छ ।

“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौं” भन्ने उद्देश्यका साथ आयोजित मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता फागुन ३ गतेसम्म सञ्चालन हुनेछ ।

२४ औं आहा ! रारा पोखरा गोल्डकपमा पहिलो पटक फाउल खेल्ने खेलाडी वा अफिसियलहरूले फाउल गरे बापत नगद जरिवाना तिर्नुपर्ने प्रावधान अघि सारिएको छ । आयोजकका अनुसार प्रत्येक पहेँलो कार्डको रु १ हजार, दोहोरो पहेँलो कार्ड (रातो कार्ड) को रु २ हजार तथा सिधै रातो कार्ड पाएमा रु ३ हजार जरिवाना शुल्क बुझाउनुपर्नेछ ।

प्रतियोगितामा ३ विदेशी टिम, ८ ए डिभिजन क्लबहरू र आयोजक सहारा क्लब पोखरासहित १२ टिमको सहभागिता रहनेछ ।

समूह ‘ए’ तर्फ आयोजकसहित नेपाल पुलिस, एनआरटी, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी क्लब र यूकेको ब्रिगेड ब्वाइज क्लब छन् । तीमध्ये यूके र आर्मीले क्रमशः पहिलो र तेस्रो क्वार्टरफाइनल खेल्नेछन् ।

समूह ‘बी’ मा एपीएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड, संकटा, थ्री स्टार र उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब छन् । तीमध्ये थ्री स्टार र उज्बेकिस्तानले क्रमशः दोस्रो र चौथो क्वार्टरफाइनल खेल्नेछन् ।

गत २३औं संस्करणको विजेता त्रिभुवन आर्मी फुटबल क्लब र उपविजेता थ्री स्टार क्लब ललितपुर रहेको थियो ।

विजेतालाई नगद पुरस्कार रु १२ लाख १ हजार र उपविजेतालाई रु ६ लाख १ हजार प्रदान गरिनेछ ।

प्रतियोगितालाई पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकको रूपमा मोफसलको प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन रारा तयारी चाउचाउ ले गरेको छ ।

कुल अनुमानित आम्दानी रु १ करोड ५१ लाख रहेको प्रतियोगितामा अनुमानित खर्च रु १ करोड ४२ लाख २० हजार रहेको जनाइएको छ ।

टिकट दर
– प्रि-क्वार्टर र क्वार्टरफाइनल खेलका लागि सामान्य रु १०० र भिआइपी रु २००/-
– सेमिफाइनल खेलका लागि सामान्य रु २०० र भिआइपी रु ४००/-
– फाइनल खेलका लागि सामान्य रु ३०० र भिआइपी रु ५००/-

२४ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको यस प्रतियोगिताबाट बचत भएको रकम सहारा क्लबद्वारा सञ्चालित कठिन परिस्थितिमा रहेका तथा विपन्न वर्गका बालबालिकाहरूका लागि सूर्य बहादुर के.सी. स्मृति सहारा फुटबल एकेडेमी मा खर्च गरिने क्लबले जनाएको छ ।

विगत २०६१ सालदेखि आवासीय रूपमा निःशुल्क स्वास्थ्य, शिक्षा, दीक्षा लगायत फुटबल प्रशिक्षण प्रदान गर्दै आएको सहारा फुटबल एकेडेमी, गण्डकी प्रदेश, पोखरा-१७, दोबिल्ला मा हाल १६ जिल्लाका ३० जना बालकहरू आश्रित छन् । उक्त एकेडेमीको सञ्चालनको मुख्य स्रोत नै यो प्रतियोगिता रहेको क्लबले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *