इटहरी । सुनसरीको इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
आइतबार इटहरी-५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा सिंहदेवी फुटबल क्लब धनकुटाले गाईघाट फुटबल क्लब उदयपुरलाई ३-२ गोल अन्तरल पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनकुटाको जितमा राजु लिम्बूले २ तथा शिशिर लेखीले १ गोल गरे । उदयपुरका लागि अमन लामा र आकाश राईले समान १ गोल गरे ।
खेलको छैटौं मिनेटमा अमनको गोलमार्फत उदयपुरले अग्रता लिएको थियो । ३३औं मिनेटका शिशिरले धनकुटाका लागि बराबरी गोल गरे ।
३९औं मिनेटमा राजुले गोल गर्दा धनकुटा २-१ ले अगाडि बढ्यो । आकाशले ५९औं मिनेटमा गोल गर्दै उदयपुरलाई २-२ को बराबरीमा ल्याए ।

७२औं मिनेटमा राजुले ब्यक्तिगत दोस्रो गोल गर्दै धनकुटालाई सेमिफाइनलमा पुर्याए । खेलको म्यान अफ दि म्याच पनि राजु नै घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत सोमबार हुने पहिलो सेमिफाइनल खेल लोहोरुङ फुटबल क्लब संखुवासभा र दमक एकेडेमी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
आयोजक द योङ ब्रदर्श क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार प्रतियोगिताको विजेता टिमले नगद दुई लाख ५० हजार प्राप्त गर्नेछ । उपविजेता टिमले नगद एक लाख ३० हजारमा चित्त बुझाउनेछ ।
अघिल्लो वर्ष विजेतालाई दुई लाख २२ हजार प्रदान गरिएको थियो भने उपविजेताले एक लाख ११ हजार रुपैयाँ प्राप्त गरेका थिए । तर, यस वर्ष पुरस्कार राशि बढाइएको उनले बताए ।
यसैगरी विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार, उत्कृष्ट गोलरक्षकलाई नगद १० हजार, उत्कृष्ट डिफेन्डरलाई नगद १० हजार, उत्कृष्ट मिड फिल्डरलाई नगद १० हजार, उत्कृष्ट स्ट्राइकरलाई नगद १० हजार र सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद १० हजारसहित ट्रफी र मेडलसहित प्रमाणपत्र वितरण गरिने खेल संयोजक एवम् क्लबका संरक्षक विकास केसीले जानकारी दिए ।
