नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा काठमाडौँमा जरी सभापति कप फुटबल प्रतियोगितामा आज (सोमबार) पहिलो सेमिफाइनल खेल हुँदै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने सेमिफाइनलमा संकटा क्लब र मच्छिन्द्र फुटबल क्लब फाइनल प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रिने छन् । सङ्कटाले उद्घाटन खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

संकटाले पहिलो खेलमा शानदार प्रदर्शन गर्दै चर्च ब्वाइजमाथि ३-० गोलको जीत दर्ता गरेको थियो । सोही लय कायम राख्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा सङ्कटा रहेको छ ।

उता, मच्छिन्द्र फुटबल क्लबले आफ्नो पहिलो खेलमा विभागीय क्लब एपीएफमाथि १-० को कठिन जीत दर्ता गरेको थियो । बराबरीतर्फ उन्मुख खेलमा पेनाल्टीको तयारी स्वरूप गोलकिपर पनि परिवर्तन गरेको अवस्थामा मच्छिन्द्रका शनिस श्रेष्ठले निर्णायक गोल गर्दै टोलीलाई सेमिफाइनलमा प्रवेश गराएका थिए ।

संकटा र मच्छिन्द्र दुवैको खेल उत्कृष्ट हुने अपेक्षा गरिएको छ । दोस्रो सेमिफाइनलमा भने नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ ‘बागमती प्रदेश (बागमती आयोजकको तर्फबाट) र न्यु रोड टिम एनआरटी भिड्ने छन् । दोस्रो सेमिफाइनल मंगलबार हुने छ ।

सर्वाधिक पुरस्कार राशिको नेपाली काँग्रेसका सभापतिको नाममा सञ्चालित नकआउट प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ पाउने छ भने उप विजेता टोलीले १३ लाखमा चित्त बुझाउने छ ।

प्रतियोगितामा प्रत्येक खेल खेल्ने दुवै टोलीले नगद ५० हजार पाइरहेका छन् भने प्लेयर अफ दी म्याचले १५ हजार पाएका छन् । प्रतियोगिताका हेर्नका लागि १ सय र ३ सय रुपैयाँको टिकट दर तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *