फ्रेन्च फरवार्ड केलियन एम्बाप्पेको ह्याट्रिकको मदतमा रियल मड्रिडले स्पेनिस ला लिगामा भाल्लाडोलिडलाई पराजित गरेको छ ।

जोसे जोरिल्ला रंगशालामा भएको खेलमा एम्बाप्पेको ह्याट्रिकप्रेरित रियल मड्रिडले भाल्लाडोलिडलाई ३-० गोलअन्तरले पराजित गरेको हो । खेलको ३०औं मिनेटमा एम्बाप्पेले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० को अग्रता लिएको रियल मड्रिडले दोस्रो हाफमा थप दुई गोल गरेको हो । खेलको ५७औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै रियल मड्रिडको अग्रता दोब्बर पारे ।

मारियो मार्टिनले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि भायाडोलिड १० खेलाडीमा समेटिएको थियो । इन्जुरी समयमा पेनाल्टीमार्फत ह्याट्रिक पूरा गर्दै एमबाप्पेले रियाललाई सहज जित दिलाए ।

फ्रेन्च क्लब पीएसजीबाट रियल मड्रिड आएका एम्बाप्पेको रियल मड्रिडको जर्सीमा यो पहिलो ह्याट्रिक हो । यससँगै उनको सिजनको गोल संख्या १५ पुगेको छ।

जितसँगै ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडको २१ खेलबाट ४९ अंक भएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको समान खेलबाट ४५ अंक छ । पराजित भाल्लाडोलिड भने समान खेलबाट १५ अंकका साथ पुछारमा छ ।

लिग अन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा रियल बेटिसले मालोर्कालाई १-० ले हरायो भने लस पालमस र ओसासुना तथा सेभिल्ला र इस्पान्योलले समान १-१ को बराबरी खेल्दै अंक बाँँडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *