त्रिभुवन आर्मी क्लबमाथि पुनरागमन जित निकाल्दै एपीएफ क्लब एन्फा राष्ट्रिय महिला लिगको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो क्वालिफायरमा आर्मी क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

खेलमा सुरुवाती अग्रता भने आर्मीले लिएको थियो । खेलको सातौँ मिनेटमा हिमा चौधरीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । तर, दोस्रो हाफमा १० मिनेटभित्र एपीएफकी रश्मीकुमारी घिसिङले दुई गोल गर्दै एपीएफलाई उपाधि नजिक पुऱ्याइन् ।

खेलको ७८औं मिनेटमा एपीएफकी रश्मीकुमारीले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएकी थिइन् । त्यसपछि खेलको ८८ औं मिनेटमा रश्मीकुमारी घिसिङले व्यक्तिगत दोस्रो गोल गरेकी थिइन् । जारी लिगमा रश्मीको यो ३५ औं गोल हो ।

एपीएफले अब उपाधिका लागि आर्मी र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ । त्यसअघि आर्मीले दोस्रो क्वालिफायरमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबको सामना गर्नेछ । फाइनल खेल भने १६ माघमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *