सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
धनगढीको कैलालीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको सुपर फोरको दोश्रो खेलमा बागमती प्रदेशलाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो ।
सुदूरपश्चिमले दिएको ११३ रनको लक्ष्य पछ्याएको बागमती १९.४ ओभरमा अलआउट हुँदै ८२ रनमा समेटियो । बागमतीका लागि यशोदा विष्टदले ३० र हेलिशा गुरुङले २३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमका लागि कविता कुँवर र करिस्मा थापाले २ तथा आशिका महरा र ऋतु कनोजियाले १-१ विकेट लिइन्।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रनको योगफल तयार पारेको थियो ।
सुदूरपश्चिमका लागि ऋतु कनोजियाले ३४, मनिषा बोहराले १६ र कविता कुँवरले १३ रन जोडेकी थिइन् । बगमतीका लागि सोनु खड्का र मनिषा उपाध्यायले समान ३ तथा विपिशा शाहीले १ विकेट लिइन् ।
जितसँगै सुदूरश्चिमले सुपर फोरमा २ अंक जोड्यो । बागमती र आर्मीको पनि समान २ अंक नै भएपनि नेट रनरेटमा अगाडि रहँदै सुदूरपश्चिम फाइनलमा पुग्न सफल भयो । सुदूरपश्चिमको नेट रनरेट –०.७४१ रहँदा आर्मीको –१.३२७ र बागमतीको –१.४६३ रह्यो ।
अब सुदुरपश्चिमले उपाधिका लागि साबिक विजेता विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शनिबार हुनेछ ।
शुक्रबार नै सम्पन्न पहिलो खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ ।
