जय नेपाल कप टी-२० अन्तर विश्वविद्यालय क्रिकेटमा बंगलादेशको ढाका विश्वविद्यालयले पूर्वाञ्चल विश्वविद्यालयलाई १५२ रनको फराकिलो अन्तरले पराजित गर्दै आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेको छ । यो हारसँगै पूर्वाञ्चल समूह चरणमै प्रतियोगिताबाट बाहिरिएको छ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ढाकाले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २३५ रनको विशाल स्कोर खडा गर्यो । मोहम्मद आस्वीर रहमानले ९६ रनको जबरजस्त इनिङ खेल्दै टोलीलाई उच्च स्कोरमा पुऱ्याए । उनलाई सादिक खानले ५० रनको महत्वपूर्ण योगदान दिए ।

ढाकाको लक्ष्य पछ्याउन उत्रिएको पूर्वाञ्चल टोलीले सुरुदेखि नै दबाब झेल्नुपर्यो । निर्धारित २० ओभर पनि पूरा गर्न नसक्दै टोली १९ ओभरमा ८३ रनमै समेटियो । पूर्वाञ्चलका लागि धिरज यादवले सर्वाधिक १७ रन बनाए । ढाकाका बलर सारेर साकिबले घातक प्रदर्शन गर्दै ४ विकेट लिए ।

पूर्वाञ्चलले लिगमा यसअघि पनि जित निकाल्न नसक्दा समूह चरणमै आफ्नो यात्रा समाप्त गर्नुपरेको हो । नितेश यादव, धिरज यादव, अमितकुमार मण्डल, र अभिषेक मण्डलले समान १-१ विकेट लिए पनि बलिङ र ब्याटिङ दुवैमा पूर्वाञ्चलले प्रभाव छोड्न सकेन ।

अर्को खेलमा लखनउ विश्वविद्यालयले काठमाडौं विश्वविद्यालयलाई ७३ रनले पराजित गर्यो । लखनउले दिएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं विश्वविद्यालय २० ओभरमा ८७ रनमै समेटियो । ढाका र लखनउ विश्वविद्यालयजस्ता टोलीहरूको दबदबाले प्रतियोगिताको स्तर अझै रोमाञ्चक बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *