प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिता २०८१ २०८१ अन्तर्गत बिहीबारदेखि सुरू भएको सुपर फोरमा नेपाल एपीएफ क्लबले शानदार सुरूआत गरेको छ ।
बिहिबार भएको सुपर फोरको पहिलो खेलमा बागमती प्रदेशलाई १० विकेटले हराउँदै एपीएफले शानदार सुरुआत गरेको हो । जितसँगै एपीएफ फाइनल नजिक पुगेको छ ।
बागमतीले दिएको ४३ रनको सामानय लक्ष्य एपीएफले ६.५ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्यो । एपीएफको जितमा ममता चौधरी २३ तथा राजमती ऐरी १४ रनमा अविजित रहे ।
त्यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ओभरमा ८ विकेटको क्षतिमा ४२ रन मात्र जोड्न सक्यो । खराब मौसमका कारण निर्धारित समय भन्दा ढिला गरि शुरु भएको खेल १८ ओभरमा झारिएको थियो ।
बागमतीका लागि एली यादव र यशु पाण्डेले सर्वाधिक समान ८ रन बनाए । एपीएफका लागि सुमन विष्टले ३ तथा रेखा रावल र बिनु बुढाले समान २ विकेट लिए । कविता जोशीले १ विकेट लिइन् ।
खेलको प्लेयर अफ द म्याच एपीएफकी सुमन विष्ट घोषित भइन् ।
एपिएफ समूह ‘ए’ बाट समूह विजेता र बागमती प्रदेश समूह ‘बी’ बाट समूह उपविजेता बन्दै सुपर फोरमा पुगेका थिए ।
प्रतियोगिताको सुपर फोरको दोस्रो खेलमा अहिले सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब खेलिरहेका छन् ।
सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेल्नेछन् । सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबिच फाइनल हुनेछ । प्रधानमन्त्री कपको सुपर फोरमा त्रिभुवन आर्मी, बागमती प्रदेश, एपीएफ र सुदूरपश्चिम प्रदेश पुगेका छन् ।
प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्लेयर अफ द सिरिजलाई ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई २५–२५ हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
