इङ्ग्ल्याण्डविरुद्धको पहिलो टी–२० आईमा भारत विजयी भएको छ । बुधबार राति भएको खेलमा घरेलु टोली भारतले इङ्ग्ल्याण्डविरुद्ध ७ विकेटको जित निकालेको हो ।
इङ्ग्ल्याण्डले दिएको १३३ रनको लक्ष्य भारतले १२.५ ओभरमा मात्र ३ विकेटको क्षतिमा पूरा गर्यो ।
भारतको जितमा अभिषेक शर्माले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ७९ रनको योगदान गरे । ३४ बलको सामना गरेका उनले आठ छक्का र पाँच चौका हिर्काए । सन्जु सामसैनले २६ रन जोडे । तिलक बर्माले १९ तथा हार्दिक पाण्डेले ३ रन जोडे । कप्तान सूर्यकुमारी यादवले खाता नै खोल्न सकेनन् ।
त्यसअघि इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्याण्डले निर्धारित २० ओभरमा अन्तिम बलमा अल आउट हुँदै १ सय ३२ रनको सामान्य योगफल तयार गरेको थियो ।
इङ्ग्ल्याण्डका लागि कप्तान जस बटलरले सर्वाधिक ६८ रनको योगदान गरे । ह्यारी ब्रुकले १७ तथा जोफ्रा आर्चरले १२ रन जोडे पनि अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
भारतका लागि वरुण चक्रवर्तीले ३, हार्दिक पाण्ड्या, अक्षर पटेल र अर्शदिप सिंहले समान २ विकेट लिए ।
जितसँगै भारतले ५ खेलको सिरिजमा १- ० को अग्रता लिएको छ । इङ्ग्ल्याण्ड ५ टि-२० आई तथा ३ ओडिआई खेलका लागि भारत भ्रमणमा छ । दोस्रो टि-२० आई शनिवार चेन्नइमा हुनेछ ।
