एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत अन्तिम दिनको खेलमा नेपाल एपीएफ क्लब विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको विभागीय डर्बीमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरेको हो ।
एपीएफलाई जित दिलाउन रश्मीकुमारी घिसिङ र कप्तान अनिता बस्नेतले गोल गरिन् । आर्मीका लागि अमिषा कार्कीले १ गोल फर्काइन् ।
खेलको २३औं मिनेटमै रश्मीको गोलमार्फत एपिएफले सुरुआती अग्रता लिएको थियो । रश्मीकै पासमा ३८औं मिनेटमा कप्तान अनिता बस्नेतले अग्रता दोब्बर बनाइन् । ८३औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै आर्मीलाई खेलमा फर्काउन खोजेपनि सफल हुन सकिनन् ।
खेलको प्लेयर अफ दि म्याच एपिएफकी गिता राणा मगर घोषित भइन् ।
सुपर चरणमा लगातार आठौं जित हासिल गरेको एपीएफ अपराजित रहँदै २४ अंकसहित प्लेअपमा पुगेको छ । यस्तै समान खेलबाट १६ अंक जोडेको आर्मी दोस्रो स्थानमा रहेर प्लेअपमा पुगेको छ ।
जारी लिगमा एपिएफलले आर्मीविरुद्ध लगातार तेस्रो जित निकालेको हो । यसअघि एपिएफले आर्मीलाई दोस्रो चरणमा २-१ ले र अन्तिम चरणको पहिलो लेगमा ३-१ ले हराएको थियो ।
अब क्वालिफायर-१ मा एपीएफ र आर्मीबीच नै प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल शनिबार दशरथ रंगशालामा हुनेछ । एलिमेनेटरमा नेपाल पुलिस क्लबको सामना बागमती युथ क्लबले गर्नेछ ।
