युइएफए च्याम्पियन्स लिगमा लिभरपुलले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ । मंगलबार राति भएको खेलमा इङ्लिस क्लब लिभरपुलले फ्रेन्च टोली लिलिलाई २–१ ले हराउँदै तीन अंकको अग्रता बनाएको हो ।
यो जितसँगै लिभरपुल अन्तिम १६ मा एक खेल अगावै स्थान सुरक्षित गर्न सफल भएको छ । जारी लिगमा लिभरपुल हालसम्म अपराजित छ ।
घरेलु मैदाना एनफिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह र हार्भे एलिओटले समान एक गोल गरे । १० खेलाडीमा सिमित लिलको लागि जोनाथन डेविडले एक गोल फर्काएका हुन् ।
खेलको ३४औं मिनेटमा सलाहले गोल गर्दै घरेलु टोली लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको ५९औं मिनेटमा इसा मण्डीले रातो कार्ड खाएर मैदान छाडेपछि लिलि १० खेलाडीमा सीमित भएको थियो । तर लिलिका लागि खेलको ६२औं मिनेटमा डेविडले बराबरी गोल फर्काए ।
त्यसलगत्तै ६७औं मिनेटमा एलिओटले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाउन सफल भए ।
जितसँगै लिभरपुलले ७ खेलबाट २१ अंक बनाएको छ । त्यसैगरी दोस्रो स्थानको बार्सिलोनाको १८ अंंक छ । १३ अंकको साथ लिलि ११औं स्थानमा छ ।
