पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा साउदी प्रो लिगमा अल नासरले जित हासिल गरेको छ ।
मंगलवार राती भएको खेलमा नासरले अल खलीजलाई ३-१ ले पराजित गर्यो । प्रिन्स मोहम्मद बिन फदाह स्टेडियममा भएको खेलमा नासरको जितमा रोनाल्डो बाहेक सुल्तान अल घन्नामले गोल गरे । खलीजका लागि कोन्स्टेन्टिनोस फोर्टुनिसले गोल गरे ।
खेलको ३४औं मिनेटमा खलीजका सईद अल हम्साल रातो कार्ड खादै मैदान बाहिरिएपछि टोली १० खेलाडीमा सिमित बनेको थियो । रोनाल्डोले खेलको ६५औं मिनेटमा गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ८०औं मिनेटमा फोर्टुनिसले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई बराबरीमा पुर्याए । नासरका लागि ८१औं मिनेटमा सुल्तानले गोल गर्दै खेलमा फेरी अग्रता बनाए । दोस्रो हाफको इन्ज्युरी समयमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै रोनाल्डोले नासरलाई सहज जित दिलाए ।
जितसँगै नासर १६ खेलमा ३२ अंकका साथ तेस्रो स्थानमा छ । समान खेल खेलेको अल हिलाल ४३ अंकका साथ शीर्ष स्थानमा छ ।
गएराती नै भएको अर्को खेलमा शीर्ष स्थानको अल हिलालले अल वेहदालाई ४–१ ले हरायो ।
