एन्फा महिला लिगको अन्तिम चरणमा मंगलबार बागमती युथ क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।
यसअघि नै बागमती लिगको इलिमिनेटरमा प्रवेश गरिसकेको छ भने जितविहिन वालिङ प्रतियोगिताबाट बाहिरिसकेको छ । चौथो स्थानको बागमतीको ७ खेलबाट ४ अंक छ । ७ खेलमा अंकविहिन वालिङ तालिकाको पुछारमा छ ।
इलिमिनेटरमा बागमतीले नेपाल पुलिस क्लबको सामना गर्नेछ । क्वालिफायर १ मा शीर्ष स्थानको एपिएफ फुटबल क्लब र दोस्रो स्थानको त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
अन्तिम चरणको लिगमा कुल ५ टोली सहभागी छन् । गत भदौ अन्तिममा भएको लिगको दोस्रो चरणमा सहभागी १० टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका हुन् ।
