युइएफए च्याम्पियन्स लिगमा आजबाट सातौं चरणका खेलहरु सुरु हुँदैछन् । लिग चरणमा अब अन्तिम दुई खेल मात्रै बाँकी रहेका बेला धेरै टिमका लागि अबका २ खेल निर्णायक हुनेवाला छन् ।
मंगलबार पहिलो दिन एटलान्टा, एट्लेटिको मड्रीड, बायर लेभरकुसेन, बार्सिलोना, लिभरपुल, युभेन्टस र बोरुसिया डर्टमण्ड जस्ता ठूला क्लबहरु मैदानमा उत्रिँदैछन् ।
पहिलो दिन ९ खेल हुँदैछन् । जसमध्ये जर्मन क्लब बायर लेभरकुसेन र स्पेनिस क्लब एट्लेटिको मड्रिडबीचको भिडन्त हेर्नलायक खेल हुनेछ । खेल एट्लेटिकोको घरेलु मैदानमा हुनेछ ।
पोचुर्गिज क्लब बेनफिकाले स्पेनिस क्लब बार्सिलोनाको सामना गर्दा सर्बियन क्लब क्रभेना ज्भेज्दाले डच क्लब पिएसभीसँँग खेल्नेछ । इङ्लिस क्लब लिभरपुलले फ्रेन्च क्लब लिलिविरुद्ध खेल्दा बेल्जियन क्लब ब्रुगले इटालियन क्ल्ब युभेन्टसको सामना गर्नेछ ।
स्लोभाकियन क्लब स्लोभान ब्राटिस्लाभाले जर्मन क्लब भिएफबी स्टटगार्टविरुद्ध खेल्ने छ भने इटालियन क्लब बोलोग्नाले घरेलु मैदानमा जर्मन क्लब बोरुसिया डर्टमण्डको स्वागत गर्नेछ । यी सात खेल नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछन् ।
त्यसअघि राति ११ः३० बजे दुई खेल हुनेछन् । फ्रेन्च क्लब मोनाकोले इङ्लिस क्लब एस्टन भिल्लाको सामना गर्दा इटालियन क्लब एटलान्टाले अस्ट्रियन क्लब स्टुर्म ग्राजसँग खेल्नेछ ।
