सुनसरी । हाम्रो राजारानी भेट्रान क्लब धनकुटा इटहरीमा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
इटहरी-५ पचरुखीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा बर्मिक नाम्फिङ् भेट्रान क्लब सिक्किमलाई टाइब्रेकरमा ५-३ गोलले हराउँदै राजरानी अन्तिम चारमा प्रवेश गरेको हो ।

निर्धारित समयको खेल २-२ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
टाइब्रेकरमा राजारानीका लागि कृष्ण शाक्य, मित्र बस्नेत, सन्तोष बस्नेत, सुजित राई र भेषराज लिम्बूसले गोल गरे । सिक्किमका लागि भूपेन्द्र लिम्बु, रमेश क्षेत्री र मिलन लिम्बुले मात्र गोल गर्न सके । दावा ज्याङ्पो भुदाको प्रहार बारमा लागेर फर्किन पुग्यो ।
यसअघि निर्धारित समयमा राजारानीका लागि दुबै गोल कृष्ण शाक्यले गरेका थिए भने सिक्किमका लागि दुबै गोल सोनाम भुटियाले गरेका थिए ।
खेलको म्यान अफ दि म्याच राजारानीका कृष्ण शाक्य घोषित भए । उनले नगद २,१०० रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत मंगलबार चौथो तथा अन्तिम क्वाटरफाइनल खेल टिडब्लुवाइसी भेट्रान क्लब बिराटनगर र दमक लखनपुर भेट्रान क्लब झापाबीच हुनेछ ।
हाम्रो इटहरी भेट्रान क्लबको आयोजनामा शुरु भएको प्रतियोगितामा कुल आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार तथा उपविजेताले ६१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ १२ गते हुनेछ ।
